About

आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्य प्रणाली

सार्वजनिक स्रोत परिचालनको प्रमुख माध्यम कर हो । नागरिकको कर तिर्ने क्षमता र सार्वजनिक खर्च व्यवस्थापनको लागि आवश्यक वित्तको आधारमा सरकारले कानून बनाई कर लगाई असुल गर्ने गर्दछ । कर नीति कार्यान्वयनको लागि कर प्रशासनको स्थापना गरिएको हुन्छ । कर प्रशासनको दक्षता,क्षमता,कार्य व्यवहार र निर्णय प्रक्रियाको आधारमा कर नीतीको मूल्यांकन गर्ने गरिन्छ । कर नीतिले कर राजश्व परिचालन गर्ने,व्यक्तिहरुको आयको पुनर्वितरण गरी सामाजिक न्याय कायम गर्ने, लगानी,उत्पादन, आय उपभोग प्रबर्धन गर्ने,आयात प्रतिष्थापन तथा निकासी प्रवर्धन गर्ने तर्फ जोड दिएको छ ।

कर प्रणालीमा कर नीति, कर प्रशासन र करदाताको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी ३ वटै क्षेत्रमा सुधार गर्नु जरुरी हुन्छ । असल कर नीतिले कार्यान्वयनमा सहजता ल्याउन र करदाताहरुको कर मनोबल (Tax morale) बढाउंछ । सक्षम, व्यवसायिक र करदातामैत्री कर प्रशासनले करदाताको कर सहभागिता र आत्मसन्तुष्टि अभिबृद्धि गर्दछ भने कर नीतिको प्रभावकारिता अभिबृद्धि गर्दछ । निर्णय प्रक्रियालाई पारदर्शी बनाउने, कर निर्धारण तथा कार्यसम्पादनप्रति संस्थागत एवम् व्यक्तिगत रुपमा जवाफदेही हुने,सूचना प्रविधिको माध्यमबाट करदातालाई कर सम्बन्धी नीति, कानून, कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा सूसुचित बनाउने र स्वच्छ, सक्षम र करदातामैत्रि कार्यव्यवहार मार्फत प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने र कर सम्बन्धि कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरी कर सहभागीता अभिबृद्धि गर्ने तर्फ यो कार्यालय प्रतिबद्ध रहेको छ ।

यस कार्यालयले तोकिएको कार्यक्षेत्र भित्रका करदाताहरुबाट अन्तःशुल्क, आयकर, मूल्य अभिवृद्धि कर, शिक्षा सेवा शुल्क तथा स्वास्थ्य सेवा कर संकलन गरिरहेको छ । यसको साथै करको दायरा विस्तार गर्ने, करदाताहरुबाट कर विवरण तथा कर संकलन गर्ने, बक्यौता कर संकलन गर्ने, राजस्व जोखिमको आधारमा छनौट भएका करदाताहरुको व्यवसायिक कारोबारको अनुगमन, निरीक्षण, जांचबुझ, छानबिन तथा अनुसन्धान गरी कानुनको बर्खिलाप हुने कुनै गतिविधि भएको र कर छलि वा चुहावट गरेको पाइएमा कानुनले निर्धारण गरेको कार्यविधि, कार्यप्रक्रिया बमोजिम कर निर्धारण गरी कर असुल गर्ने गरिएको छ । कर नीतिको प्रभावकारी कार्यान्वयन गरी तोकिएका राजस्व तथा कार्यमूलक लक्ष्यहरु हासिल गर्ने कार्यमा यस कार्यालयका कर्मचारीहरु निरन्तर क्रियाशील रहेका छन् । कार्यप्रणालीको सुदृढीकरण र करदातामैत्री कर प्रशासनलाई अनुभूति हुने गरी सुधार प्रयास अविच्छिन्न रुपले कार्यान्वयन गरिएको छ ।